काठमाडौं।नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ ।बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको हो ।मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।
मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।
नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।पहिलो खेलमा ३ रनले मलेसियासँग पराजित हुन पुुगेको नेपालले दोस्रो खेलमा ६ बिकेटले जीत दर्ज गरेको थियो । तेस्रो खेलमा पुनः१३ रनले पराजित हुन पुगेको नेपालले चौथो तथा पाँचौ खेल जितेको हो ।


