काठमाडौं। रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार दुर्घटनामा परी थप १० जना घाइते भएका छन्।
बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप स्यालाखाँदीबाट मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी निरीक्षक पुनले बताए।‘अहिलेसम्म सात जनको मृत्यु भइसकेको र दश जना घाइते भएको खबर छ,’ उनले भने, ‘घाइते सबैको उद्धार भइसकेको भन्ने छ। म पनि अब घटनास्थल नजिक पुग्दै छु।’
जिप गाडी सडकबाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावतको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ।


