
सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा सहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ । महोत्सबमा आफ्नो नाटक प्रस्तुत गर्नका लागि विभिन्न देशबाट नाट्यकर्मीहरु बुधबारबाटै काठमाडौंमा आउने क्रम सुरु भएको महोत्सब आयोजक टिमले जनाएको छ ।
९ मंसिरबाट सुरु हुने महोत्सवमा नेपाल सहित विभिन्न देशका २२ वटा नाटक चयन भएका छन् । महोत्सबमा यी २२ नाटकहरु विभिन्न ३२ शोमा मञ्चन हुने भएको छ ।
यो अन्तराष्ट्रिय नाटक महोत्सबलाई मण्डला थिएटर नेपालले आयोजना गर्दैछ । नेपालमा कोभिड सुरु हुनु भन्दा अघि पहिलो अन्तराष्ट्रिय नाटक महोत्सब गरेको मण्डलले यसपटक दोश्रो महोत्सब आयोजना गर्दैछ । यो महोत्सब काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटर हलमा हुँदैछ ।
महोत्सबको उद्घाटनको लागि विशिष्ट अतिथिको रुपमा भारतबाट बलिउड अभिनेता सवाना आजमी आउने भएकी छिन् । उनी बिहिबार काठमाडौं आउने बताईएको छ । सवानाको नाटक महोत्सबमा मास्टर क्लास समेत राखिएको छ ।
महोत्सबमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटक मञ्चन हुने भएका छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।
आयोजक सँस्था मण्डलाका अनुसार मण्डला थिएटरको मुख्य नाटक हल, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच शोमा मञ्चनसम्म हुने भएको छ । महोत्सवमा ९ नाटकको भने दुई–दुई शो मञ्चन हुने आयोजक पक्षले जनाएको छ ।
९ दिन सम्म जारी रहने यो नाटक महोत्सबमा उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । शुक्रबार दिउँसो १ः३० बजे नाटक महोत्सब उद्घाटन हुने महोत्सब निर्देशक एवम् नाट्यकर्मी सृजना सुब्बाले बताएकी छिन् ।
महोत्सब निर्देशक सुब्बाले महोत्सब’bout भनिन्,‘महोत्सबका सम्पूर्ण तयारी पुरा भएको छ र प्रदर्शनका लागि तयार नाटकहरुले अभ्यास पनि सम्पन्न गरेका छन् । नाटकहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई कलाप्रेमीहरुले आफ्नो समयको महोत्सव बनाउनुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।’
यो महोत्सब नाटकको माध्यमबाट विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेशसँगै वस्तुस्थिति बुझ्ना उपयोगी हुने निर्देशक सुब्बाको कथन छ ।Source:Rajdhani