काठमाण्डौ |  एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवनमा रहेको जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा दिउँसो एक्कासि ढलेपछि उहाँलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो ।हाल उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।

अस्पतालमा चिकित्सकले उपचारका लागि प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।थापा एमालेका सक्रिय नेता हुन् । पार्टीको कार्यक्रममा सहभागी भइरहेकै क्रममा उनको निधन भएको खबरले पार्टी कार्यकर्ता तथा समर्थकहरूमा शोक छाएको छ ।

२०५४ सालमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । ०७९ सालमा उहाँ पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित हुनुभएको थियो ।