काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चुनावलाई बाध्यताको चुनाव भएको बताएका छन् । नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव नेपालका लागि संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे ।
सभापति थापाले ७४ सालपछि संबिधान बनेपछिका ४-५ बर्ष दुर्भाग्यपूर्ण भएको भन्दै त्यो समय सरकार बनाउने र ढाल्नेमा बितेकोले जनतामा चरम निराशामा आएको स्पष्ट गरे । उनले ८२ देखि ८७ सम्मको पाँच बर्ष एउटा मौका दिन मतदातालाई आग्रह गर्दै देशको अहिलेसम्मको सुनौलो समय बनाउने संकल्प गरेको बताए ।
उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै व्यक्तिको ज्यान जानु हुँदैन । यो देशमा कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुन्न । यो अवस्था सिर्जना गर्नुपर्नेछ । त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र २३ र २४ लाई हामीले हेर्नैपर्छ । एउटा परवृत्ति छ भाद्र २३ र २४ गते जे भयो त्यसलाई उसले इन्कार गर्छ । २३ र २४ गते अगाडि सबैले दुधभात खाएका थिए देश ठिक थियो । नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ । नेपालको राजनीति फोहोर भएको छ । गठबन्धनको राजनीतिले नेपालको समग्र राजनीतिलाई दूषित बनाएको छ । त्यसैले नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं । यो प्रदूषित राजनीतिलाई हामी सफा गर्छौं । ८२ देखि ८७ सम्मको पाँच वर्ष हामी देश र जनतालाई स्वर्णिमकाल हामी बनाउँछौं भन्ने सपना बोकेर आएका छौं ।’
सभापति थापाले अहिलेको प्रश्न कर्णालीको गरिबी किन हटेन भन्ने प्रश्न भएको बताउदै कर्णालीको समस्याको जारामा पुग्नु पर्ने बताए । उनले कर्णालीको प्रमुख मुद्धा संबिधान परिवर्तन गरेर, कानुन बदलेर, काठमाडौँबाट कर्णालीको हक लिएर गर्नुपर्ने बताए ।


