झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाइँको रूपमा चित्रण गरेका छन् ।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे । आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताए ।

अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं ।’ उनले भने । विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताए ।

आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे । उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराए ।

‘हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपथ्र्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन् ।’ उनले भने, ‘बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गमबाट हेलिकप्टरमा उद्धार गर्ने व्यवस्था सुरु गर्यौं ।’

व्यक्तिगत निष्ठा र राष्ट्रियताको रक्षा
आफूमाथि भइरहेका प्रहारहरूको जवाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताए ।

‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन ।’ उनले दृढता व्यक्त गरे, ‘मिचिएको भूभाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ ।’

उनले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको बताए । एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उनको उद्घोष थियो ।

ओलीले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न मतदाताहरूलाई विशेष आग्रह गरे । सूर्य चिन्हको धार्मिक र सांस्कृतिक महत्व दर्शाउँदै उनले भने, ‘सूर्यले जगतलाई उज्यालो, जीवन र न्यानो दिन्छ । त्यही सूर्य बोकेर हरिबहादुर आउनुभएको छ ।’ उनले हरिबहादुर राजवंशी एक्लो नभई उनको पछाडि एमालेको ‘जिम्मा जमानी’ रहेको बताए । ‘गलत ठाउँमा छाप पर्दा देश बिग्रिन्छ, देश बनाउने हो भने सूर्य चिन्हमा मतदान गर्नुहोस् ।’ उनले अपिल गरे ।

कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गरे । केही महिना काम गरेर पद खोज्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै उनले भने, ‘यो आन्दोलन व्यक्तिगत लाभका लागि होइन, देशलाई के दिने भन्ने सोचेर लाग्ने हो ।’