काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।सोमबार बिहान तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।
दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
सोमबार राति पनि तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ।राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


