काठमाडौं | विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
प्रजातन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने गरिन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यान अर्पण गर्ने चार महान् सहिद—धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित विभिन्न कालखण्डमा बलिदान दिएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
आजको दिन सहिदको सपना र बलिदानलाई स्मरण गर्दै लोकतन्त्रको संरक्षण, सुशासन र नागरिक अधिकारप्रति प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा मनाइँदैछ ।


