काठमाडौं।देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ । पश्चिमी वायु सक्रिय हुँँदा आज सुदूरपश्चिमदेखि वर्षा सुरु हुँदै छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार साँझ सुदूरपश्चिम प्रदेशका केही स्थाना तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले सुदूरपश्चिममा वर्षा गराउने बादल प्रवेश गरिसकेको बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

विभागका अनुसार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थामा तथा वाग्मती प्रदेशको एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

मौसमविद् डेबिड ढकालका अनुसार यो प्रणालीले काठमाडौंमा भने वर्षा गराउने सम्भावना निकै न्यून छ । काठमाडौंमा यसको प्रभाव देखिए पनि छिटपुट वर्षा मात्रै हुने उनी बताउँछन् । तर, छिटपुट वर्षाको सम्भावना पनि निकै न्यून छ ।

यो प्रणालीको असर शनिबारसम्म मात्रै रहनेछ । त्यसपछि पुनः कमजोर भएर जाने बताईएको छ ।