सिन्धुली । सिन्धुली जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रको प्रतिस्पर्धा केवल दुई उम्मेदवारबीचको चुनावी लडाइँ मात्र होइन, दुई फरक राजनीतिक संस्कृति, फरक जीवन भोगाइ र दुई फरक वैचारिक यात्राबीचको टकरावको रूपमा हेरिएको छ। एकातर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रिय नेता राजन दाहाल, जो जनयुद्धको कठिन कालखण्डमा खुकुरीको धारमा हिँडेर तिखारिएका संघर्षशील नेता हुन्।
अर्कोतर्फ नेकपा एमालेका नेता मनोज जङ थापा, जो तत्कालीन माओवादी पृष्ठभूमिबाट आए पनि पछिल्लो समय सामन्ती शैली र कोठे राजनीतिक चिन्तनको प्रतिनिधि बनेको आरोप खेपिरहेका छन्। राजन दाहाललाई सिन्धुली जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएको, दुःख–सुखमा सँगै उभिने र संकटका बेला पार्टी होइन, मानिस हेर्ने नेताका रूपमा चिनिन्छ। जनयुद्धका दिनहरूमा विभिन्न मोर्चाहरू सम्हाल्दै जीवनको जोखिम उठाएका दाहाल जनताको बीचबाटै हुर्किएका नेता हुन्। उनका लागि राजनीति सत्ता प्राप्तिको साधन मात्र होइन, सामाजिक परिवर्तनको औजार भएको समर्थकहरू बताउँछन्।
यसको विपरीत, मनोज जङ थापा कृषक परिवारबाट आएको भए पनि व्यवहारमा भने सामन्ती सोच र शहरकेन्द्रित जीवनशैलीमा रमाएका कारण आलोचना हुने गरेको छ। स्थानीयवासीका अनुसार, थापा सिन्धुलीको सामाजिक संरचना, संस्कृति र जनजीवनमा घुलमिल हुन नसकेको अनुभूति जनतामा छ। जनताले नमस्ते गर्दा समेत नमस्कार फर्काउने संस्कार नदेखिएको भन्दै उनको आलोचना सार्वजनिक रूपमा समेत हुँदै आएको छ। राजनीतिक पृष्ठभूमि हेर्दा दुवै नेताको यात्रा तत्कालीन माओवादी आन्दोलनसम्म पुग्छ। तर त्यो साझा इतिहास यहीँ आएर टुटिन्छ। दाहाल जनयुद्धका कठोर मोर्चाहरूमा प्रत्यक्ष संलग्न रहँदा थापा भने शहरमा सुरक्षित वातावरणमा बसेर राजनीतिक विश्लेषण र चिन्तनमा सीमित रहेको आरोप लाग्ने गरेको छ।
स्थानीय विश्लेषकहरू भन्छन्—जनताको माटोमा पसिना बगाएर नेतृत्व गर्नु र एसीको कोठामा बसेर राजनीति गर्नुबीच ठूलो अन्तर हुन्छ। यही ऐतिहासिक यथार्थ, संघर्षको मूल्य र जनतासँगको सम्बन्धलाई मूल्यांकन गर्दै नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वले सिन्धुली–२ मा राजन दाहाललाई उम्मेदवार बनाएको बताइन्छ।
पार्टी स्रोतका अनुसार दाहालको उम्मेदवारी कुनै आकस्मिक निर्णय नभई लामो संघर्ष, त्याग र जनआधारको परिणाम हो। यो विषम परिस्थितिमा पार्टी पङ्क्ती एकजुट भएर अगाडि बड्नुको विकल्प छैन । स्थानीय राजनीतिक वृत्तमा अहिले सिन्धुली–२ को चुनावलाई “संघर्षको राजनीति बनाम सुविधाको राजनीति” को रूपमा हेरिन थालिएको छ। मतदाताहरू पनि यो चुनावलाई व्यक्ति मात्र होइन, राजनीतिक संस्कार र मूल्यको छनोटका रूपमा बुझ्न थालेका छन्। अब प्रश्न यही छ—जनताको दुःख–सुखसँग जोडिएको संघर्षशील नेतृत्व रोज्ने कि कोठे राजनीतिबाट निर्देशित कथित बौद्धिक नेतृत्व? यसको उत्तर सिन्धुली–२ का मतदाताले निर्वाचनमार्फत दिनेछन्।


