काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसेको हो । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तको योजनाका बारेमा समीक्षा भएको छ ।
बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो । निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ ।
निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सो को निगरानीलाई प्रभावकारी बनाउने र गैर कानुनी भएको पाइएमा सो को कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ।


