काठमाडौं।रास्वपाका सभापति रवि लामिछाने प्रभु बैंकको बैक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो ।
पर्सा हाजिर भएका लामिछाने मंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो ।न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको थियो । अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको र माग भएको रकम बुझाएर रिहा भएको तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।
सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो । यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए ।
लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए । लामिछाने वीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए ।


