वीरगंज, २८ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि बहानामा चुनाव सार्ने षडयन्त्र नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिएका छन् । कुनै दलको आन्तरिक कलह, घरझगडा वा महाधिवेशनलाई लिएर निर्वाचन सार्ने षडयन्त्र भए नेपाली जनता प्रतिकारमा उत्रिने उनले बताए ।
आजपाद्धारा आज (सोमबार) पर्सा क्षेत्र नं. ३ को पोखरियामा आयोजित क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताए ।
केही राजनीतिक दलका आन्तरिक समस्या एवं कारणले निर्वाचनै सार्ने षडयन्त्र भइरहेको बताउदै उनले कुनै पनि हालतमा निर्वाचन सार्ने काम नेपाली जनतालाई स्वीकार्य नभएको बताए । पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशन, आन्तरिक कलह र घरझगडाका कारण निर्वाचन नै सार्ने षडयन्त्र भइरहेको उनले बताए ।
‘कसैलाई के समस्या भएको छ त्यसको कारण निर्वाचन नै सार्ने षडयन्त्र नेपाली जनतालाई कुनै पनि हालतमा स्वीकार्य छैन् । म पर्साको यो पवित्र भूमीबाट प्रधानमन्त्री सुशीला कार्कीजीलाई भन्न चाहन्छु । नेपाली जनताले चुनाव चाहेका छन । चुनाव सार्ने मतियार बने त्यसको मुल्य चुकाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘तोकिएकै मितिमा नेपाली जनताले निर्वाचन चाहेका छन । त्यसैले निर्वाचनबाट कोही पनि दायाँबायाँ भाग्ने, चुनाव भाँडने षडयन्त्र भए त्यसको प्रतिकार गरिन्छ ।’
पछिल्लो समय जेनजी हत्यारा, भ्रष्टाचारीहरुसंग प्रधानमन्त्रीको हिमचिम बढेको टिप्पणी गर्दै उनले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कहिले कारबाही हुने प्रश्न समेत सरकारसंग गरे । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मुखनै हेर्दिन भन्ने प्रधामन्त्रीले अहिले घण्टौ बालुवाटारमा चियागफ गर्नेगरेको टिप्पणी उनले गरे ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका हत्यारालाई कहिले कारबाही गर्ने सरकारसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले हत्याराहरुसंग चिया पार्टी गरेर शहिद परिवारले न्याय नपाउने बताए । जेनजी शहिद परिवार, आन्दोलनकारीहरुले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही कहिले गर्ने भन्ने प्रश्न दिनहुँ गरिरहेको भए पनि प्रधानमन्त्री उही हत्यारासंग घण्टौं भेटघाटमै ब्यस्त रहेको उनले बताए ।
जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तवरले देशको नेतृत्व गर्न पुगेकी सुशीला कार्कीलाई आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् । यस्तै, जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमालेलाई भने उनले दमनकारीको संज्ञा दिएका छन् । अहिले आन्दोलनको हाईज्याकर र दमनकारीबीच अस्वभाविक उठबसले जेनजी जनविद्रोहलाई समेत गिज्याएको उनको आरोप छ ।
पछिल्लो समय नेपाली नागरिकक्ता नै त्याग्ने, जनताले पसिना बगाएर कमाएको पैसा ठग्ने, लुटने, र केही अनाडी तथा भ्रष्टहरुबाट मुलुकको संकट समाधान हुन नसक्ने उनले बताए ।
‘कोही ठग, कोही अनाडी छन । कसैले नेपाली नागरिकक्ता नै त्याग्ने त कोही भ्रष्ट र लुटेरा छन । कोही जेनजीका हत्याराहरु छन् । यस्ताबाट मुलुकको संकट समाधान हुनसक्दैन् । मुलुकको समस्या, संकट समाधान गर्न आजपा तयार रहेको छ । अहिलेको यो व्यवस्था, संविधान नै मुलुकको मुख्य समस्या भएकाले यसको खारेजीले मात्रै मुलुक सही दिशामा अगाडी बढन सक्छ,’ आजपा अध्यक्ष साहले भने ।
देशलाई दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रबाट बाहिर निकाल्नका लागि आजपाले सुरुदेखि नै संघर्ष गरेकोले आफ्नो पार्टी सधैं जनताको पक्षमा उभिएको आजपा अध्यक्ष साहले बताए । खराब संविधान र खराब व्यवस्थाको कारण मुलुकको अवस्थापनि खराब भएको उनको टिप्पणी छ । उनले अहिलेको संविधानले देशलाई कुनैपनि हालतमा निकास नदिने ठोकुवा समेत गरे ।
‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित पीडÞितलाई न्याय दिलाउन’ आयोजित उक्त भेलाले निर्वाचन परिचालन सम्बन्धि महत्वपुर्ण निर्णयहरु समेत गरेको छ ।


