काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा पोखराले कर्णालीलाई ३४ रनले पराजित गरेको हो । कीर्तिपुरमा आफ्नो पाँचौं खेलमा पोखराले मंगलबार कर्णाली याक्समाथि ३४ रनको जितसँगै जारी एनपिएलमा दोस्रो जित निकाल्यो । इङ्लिस ब्याट्सम्यान रोसिङ्टनको शतक पोखराको जितको आधार रह्यो । ओपनर रोसिङ्टन १०८ रनमा नटआउट रहे । यस सिजनको यो दोस्रो शतक हो ।

यसअघि कर्णालीकै ओपनर मार्क वाटले शतक बनाएका थिए । एनपिएलकै दोस्रो सर्वाधिक लक्ष्य पछ्याएको कर्णाली पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरियो । पाँचौं खेलबाट दोस्रो जितसँगै पोखरा पाँचौं स्थानमा उक्लियो । इंग्ल्यान्डका पूर्वस्टार जेसन रोयको एनपिएलमा डेब्यु पोखराका लागि सुखद बन्यो ।
पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

कप्तान तथा ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । उनले १७ बलमा तीन चौका र एक छक्का हिर्काए । तर पोखराले पावरप्लेमा ४४ रन जोड्दै राम्रो सुरुवात पायो । दोस्रो विकेटका लागि ओपनर रोसिङ्टन र रोयले एक सय २७ रनको शतकीय साझेदारी गरेपछि पोखरा विशाल योगफलतर्पm अग्रसर भएको हो । ११.२ ओभरमै पोखराले सय रनको आँकडा पार गरेको थियो । रोय १७औं ओभरमा आउट भए । नन्दन यादवले रोयलाई ४६ रनमा पन्चालबाट क्याच गराए । ३४ बल खेलेका रोयले दुई चौका र तीन छक्का प्रहार गरे । त्यसपछि आएका धनन्जय लक्षणले पनि आक्रामक ब्याटिङ गर्दै रोसिङ्टनलाई साथ दिए ।

लक्षणले ११ बलमा ३३ रन जोडे । उनको इनिङमा तीन चौका र एक छक्का रह्यो । उनी र रोसिङ्टनबीच तेस्रो विकेटका लागि ४० रनको अविजित साझेदारी बन्यो । रोसिङ्टनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । कर्णालीको बलिङमा नन्दन र मार्कले समान एक विकेट लिँदा अन्य पाँच बलर विकेटविहीन भए ।