काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको भनाइ छ ।एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको उल्लेख गरे । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको जानकारी दिए ।गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । प्रतिनिधिसभाको पुनर्स्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताए । बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरणसभालाई झापामा भव्य रूपमा आयोजना गर्न निर्देशन दिएका छन् । केन्द्रीयस्तरको जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि ओलीले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् ।


