काठमाडौं, २४ कात्तिक । COMMON GEN-Z NEPAL ले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । निकास र विकासमा असफल भएकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका हत्यारालाई अझै पक्राउ गरेर कारबाही नगरेको आरोप उनीहरुले लगाएका छन् ।

काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै COMMON GEN-Z NEPALका अध्यक्ष विकेश साहले जेनजी आन्दोलनका हत्यारा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरे ।

‘जेनजी आन्दोलनको क्रममा युवा विद्यार्थीमाथि ताकिताकि टाउको, छातीमा गोली ठोक्ने र आदेश दिनेलाई अझै पक्राउ गरिएको छैन । केपी ओली, रमेश लेखक सहितलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न हामी जोडदार रुपमा माग गर्दछौं,’ अध्यक्ष साहले भने, ‘तर यो सरकारका प्रधानमन्त्री सुशीला कार्की देखी गृहमन्त्री ओमप्रकाश आर्यालय लगायतकाले खुटाकमाएका छन् । अपराधीलाई पक्राउ गर्न किन नसकेको होला ? हाम्रो गम्भिर प्रश्न छ । उनीहरुलाई पक्राउ गर्नु, पक्राउ गर्न नसक्ने हो भने कुर्सी छोडनुस् ।’

जेनजी आन्दोलनकारी सिवि साहले युवा विद्यार्थीको आन्दोलन र रगतबाट बनेको वर्तमान सरकारले अपराधीलाई पक्राउ गरेर कारबाही गर्नुको साटो संरक्षण गरेको गम्भिर आरोप लगाए । मुलुकमा भ्रष्टाचार तिब्ररुपमा बढेको र अनियमितता, कुशासन, कर आतंक, नेताको लुटभ्रष्टाचार, मनोमानी बढदै गएपछि जेजनी आन्दोलन भएको बताउदै उनले आन्दोलनमा दमन गर्ने अपराधीलाई पक्राउ गरी जेलभित्र राख्नुपर्ने उनले बताए । जेनजी आन्दोलनका क्रममा हत्या गरिएका परिवारलाई एक करोड क्षतिपुर्ति र रोजगारको व्यवस्था सरकारले गर्नुपर्ने माग समेत साहले गरेका छन् ।

गत शनिबार काठमाडौंको कोटेश्वरमा जेनजी आन्दोलनकारीको भएको राष्ट्रिय भेलाबाट भएका निर्णय र निष्कर्ष सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा जेनजी आन्दोलनकारी उज्जवल शर्मा, राजन साह, प्रसुना आचार्य, सोनिया पटेल, प्रदिप साह, साहिल साह, सुवास ठाकुर, विकास झा, लखिन्द्र साह, धिरेन्द्र साह, साइमन साह लगायतकाले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरालाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय भेलाले अन्तरिम संविधान र जेनजी नेतृत्वमा नयाँ सरकार गठनको माग गरेको छ । ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, ⁠जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्नुपर्ने, ⁠निकास र विकासमा असफल सुशीला कार्की सरकार तुरुन्त विघटन गर्नुपर्ने, ⁠जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले राजिनामा दिनुपर्ने, ⁠जेनजी आन्दोलनका शहिद, घाइते परिवारलाई रोजगारी दिनुपर्ने, ⁠जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर्नुपर्ने लगायतका माग भेलाले गरेको छ ।

यि माग पुरा गराउनका लागि विभिन्न संघर्षका कार्यक्रम गरिने निर्णय भएको COMMON GEN-Z NEPAL का महासचिव प्रदिप साहले जनाएका छन् । जेनजी आन्दोलनसंग भएको धोखा बारेमा देशैभरी भण्डाफोर अभियान गर्ने, ⁠जेनजी हत्यारा केपी ओली, रमेश लेखकलाई गिरफ्तारका लागि जनदबाब सृजना गर्ने, ⁠जेनजी आन्दोलनकारीमाथि भइरहेको धरपकडको प्रतिकार गर्ने, ⁠जेनजी आन्दोलनका हत्यारालाई एक हप्ताभित्रमा कारबाही नगरे गृहमन्त्रीलाई ऐरियाबन्दी गर्ने निष्कर्ष भेलाले गरेको महासचिव साहले जनाएका छन् ।

यसैगरी राष्ट्रिय भेलाले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी समेत तोकेका छ ।