काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।रक्कीप्रसाद साह र सुजित यादवले सोमबार (कात्तिक २४) रिट दायर गरेका हुन् ।रिटको पेसी कात्तिक २५ (मंगलबार)का लागि तोकिएको छ । उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।रिटमा संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ ।
कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट सर्वोच्च लैजाने तयारी गरेका छन् ।
उपचारका लागि काठमाडौं जान्छु भनेर बिदा भएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीचबाटोमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।


