काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइतबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी परिक्षा नियन्त्रण कार्यालयले दिएको छ । बोर्डले पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएकोमा ७६ हजार ३६७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् र ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।