ललितपुर / श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको आयोजना र हरिसिद्वि प्रणामी युवा परिषदकाे तत्ववधानमा “पृथ्वी परिक्रमा महोत्सव–२०८२” कार्तिक पुर्णिमाका दिन भव्य रथ र शोभायात्रा सहित काठमाण्डाै र ललितपुरका विभिन्न स्थानकाे परिभ्रमण सहित सम्पन्न भएको छ।

देशै भरिका प्रणामी भक्तजनले यस दिन परमधामकाे सात परिक्रमाकाे स्मरण गर्दै भक्तिभावपूर्ण रुपमा छत्रपति नरेश छत्रशालले मध्य प्रदेश पन्नामा घाेडा सवार सहित गरेकाे परिक्रमाकाे स्मरण गरेका थिए भने गाना बजाना र्याली र झाँकीसाथ प्रेम र सद्भाव दर्शाउँदै कार्यक्रममा सहभागी भई लगभग २० किलाेकिटर पदयात्रा गरेका थिए ।
शुरुमा हजारौं श्रद्धालु भक्तजन श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिबाट बिहान ७ बजे श्री राज्जीको रथ यात्रा गर्दै हातिवन हुँदै ईमाडोलस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेका थिए । त्यहाँ विशेष आरती सम्पन्न गरिएपछि ८:०० बजे शोभायात्रा पुनः ग्वार्को हुँदै कोटेश्वर, जडिबुटी, पेप्सीकोलाबाट भैमाल मन्दिर पुगेकाे थियाे । भैमालमा त्यहाँका सुन्दरसाथबाट रथ तथा सहभागिकाे भब्य स्वागत गरिएकाे थियाे । त्यसपछि रथ प्रणामी मन्दिर श्री नवतनधाम सेवा केन्द्रतर्फ अगाडि बढेको थियो।

नवतनधाममा गुरुजीहरुले आशिर्वचन दिदै पृथ्वी परिक्रमाकाे महत्वबारे प्रकाश पारेपछि एकठ्ठा भएका सुन्दरसाथ यहाँबाट गुहेश्वरी, मृगस्थली, पशुपतिनाथ हुँद‌ै भजनकीर्तन र जयकार सहित बाैद्व, नयाँबरस्तीबाट पुन नवतनधाम सेवा केन्द्रमा आएर समापन कार्यक्रममा सहभागी भएका थिए । रथ सहितकाे शोभायात्राले आध्यात्मिक एकता, धर्मप्रति निष्ठा र श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको थियो। राजधानीका विभिन्न मार्गहरूमा भक्तजनहरूको स्वागत, पुष्पवृष्टि र संकीर्तनले वातावरण अत्यन्त भक्तिमय बनेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिती नेपाल र यस अन्तर्गतका समितीहरु, विभिन्न मन्दिर परिवार र सुन्दरसाथ भक्त समुदायकाे सहभागितामा सफलतापूर्वक सम्पन्न भएको आयोजक समितीले जनाएको छ।