काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन् ।विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार, भियतनाममा २४ घण्टाभित्र रेकर्ड वर्षा भएको छ । जसका कारण तटीय क्षेत्रहरू बढी प्रभावित भएको छ ।

भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भीडीडीएमए) का अनुसार, मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका छन् ।युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होई एन पनि डुबानमा परेको छ । त्यहाँको नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुंगा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन् ।

भीडीडीएमएका अनुसार, १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन् । ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर (१३ हजार एकड) बाली जमिन बाढीले नष्ट गरेको छ । वातावरण मन्त्रालयका अनुसार, कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।सरकारका अनुसार, बाढी र प्रकोपजन्य कारणले ६१ करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको छ ।