काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे ।पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका छन् ।हटाएको पोष्टको स्क्रीन शट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त पोष्टमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्न अश्लिल शब्द प्रयोग गरेका थिए । साथै उनले उक्त पोष्टमा प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबै मिलेर पनि केहि गर्न नसक्ने बताएका थिए । बालेनको उक्त पोस्टको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

उक्त स्टाटसका कारण मेयर साह यतिवेला आलोचित बनिरहेका छन् । सामान्य मर्यादाको पनि ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध प्रतिक्रिया आइरहेका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको थियो ।