 
                                काठमाडौं।बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।
यात्रा गर्दा मौसमलाई विचार गरेर मात्र यात्रा गर्नुहुन पनि अनुरोध गरिएको छ ।

 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
 
                                         
                                         
                                        