काठमाडौं  । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत गरी १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रासहित १४ जनाविरुद्ध १४ करोड रुपैयाँभन्दा धेरै बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीहरूमाथि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप छ ।

आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्नेदेखि खरिद गर्नेसम्म मिलेमतोमा गरेको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको जानकारी दिएको छ । अख्तियारले डा. मिश्रलाई १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।डा. मिश्र सुशिला कार्कीको मन्त्रिपरिषद विस्तार हुदा स्वास्थ्यमन्त्री बन्ने लगभग निश्चित भएपछि यसै अनुसन्धानका कारण उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो । त्यतिबेला मन्त्री बन्ने निश्चित भएपछि उनले सचिव पदबाट राजीनामा समेत दिएकी थिइन् ।

लगत्तै स्वास्थ्यमन्त्रीको चर्चा चलेपछि मिश्राले अतिरिक्त सचिवबाट राजीनामा दिए पनि अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउन लागेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने नामको सूचीबाट  हटाइएको   थियो ।

तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे,  वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादव प्रसाद सापकोटा, विभागका तत्कालीन लेखा अधिकृत शम्भु प्रसाद ढकाल, विभागका लेखापाल तिलक राम ढकाल, विभागका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र, विभागको केन्द्रिय स्टोर पथलैयाका जनस्वास्थ्य निरिक्षक संजय कुमार साह र म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध पनि १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।