काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन पनि छ । धन्तेरसको दिन कमलको पुष्पमा बसेकी माता लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।
धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नू लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेर पनि प्रसन्न हुने मान्यता रहेको छ ।
धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्ने मान्यता पनि रहि आएको छ ।
बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलिमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।
कौडा, लङ्गुर बुर्जा, तासलगायत विभिन्न स्वरूपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन ।


