काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार ७०औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।

अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएछन् |

अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निसानामा पर्ने संगठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्ब भएको उनको भनाइ छ ।

नेपाल प्रहरीको निस्वार्थ सेवा र अटल समर्पण भावलाई अंगाल्दै देश र जनताको सुरक्षाको क्रममा सहादत् प्राप्त गरेका प्रहरीहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै कर्तव्य पालनको शिलशिलामा घाइते अथवा अंगभंग भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाका लागि महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ ।

प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वाससमेत दिलाउन चाहन्छु | गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताए ।

उनले भने, ‘गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवङ्गत आत्माहरूको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’