काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नुजस्ता एजेन्डालाई प्राथमिकतामा राखेर दल दर्ता गर्न लागिएको बताएका छन्।

उनले जेनजी आन्दोलनले नेपालमा एउटा नयाँ अवसर ल्याएको बताएका छन् । उक्त आन्दोलन जेन्जीबाट भएपनि त्यस क्रान्ति ल्याउनमा सबै नेपालीहरूको सहभागिता रहेको उनले बताए ।

‘राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,’ उनले भनेका छन्, ‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।’

यसका साथै उनले आमूल परिवर्तन ल्याउन शान्तिपूर्ण रुपमा डटेर लाग्ने भन्दै हाललाई पार्टी गठन वार्ता समिति तयार गरेका जानकारी दिए ।

देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।

उनले आफ्नो पार्टीमा जोडिन चाहनेहरु वार्ता टोलीसँग सम्पर्कमा आउन समेत सबैलाई अनुरोध समेत गरेका छन् ।