काठमाडौं  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा सम्मेलन र जुलुस गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले  नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको  हो ।
प्रशासनले हालैको जेनजी आन्दोलनपछि भएको तोडफोड, आगजनी र सम्पत्ति क्षतिका घटनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको जनाएको छ । “शान्ति सुरक्षामा चुनौती थपिन सक्ने र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जटिलता आउन सक्ने भएकाले कुनै पनि र्‍याली वा प्रदर्शनको स्वीकृति दिइने छैन,” सूचनामा भनिएको छ ।

जिल्ला प्रशासनले पूर्वअनुमति बिना कुनै पनि कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाह र शान्ति व्यवस्थामा असर पर्न सक्ने प्रशासनको ठहर छ ।

‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ’, प्रशासनको सूचनामा उल्लेख छ।