काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाशनिबारा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

यस दिन विशेष रूपमा भगवती कालरात्रिको पूजा गरिन्छ भने महागौरी देवीको उपासना गरी श्रद्धालुहरूले अष्टमी पर्व मनाउने चलन छ । दुर्गा पूजाको आठौं दिन पर्ने महाअष्टमीमा शक्ति रूपी देवीको आराधना गरिँदै, भक्तजनहरू विभिन्न शक्तिपीठ, मन्दिर र धार्मिक स्थलहरूमा पूजापाठ, हवन तथा बलि दिने परम्परा पालना गर्छन् । वेद गुरुका अनुसार, महाअष्टमीको आध्यात्मिक सन्देश भनेको ‘असत्य, अन्याय र अधर्ममाथि सत्य, न्याय र धर्मको विजय हो ।’

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाशनिबारा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ ।