काठमाडौँ | निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ ।  आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो ।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट छ ।

आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वतः निष्क्रय हुने प्रावधान छ । तर जेनजी पनि मताधिकारबाट बञ्चित नहोस् भन्ने उद्देश्य राखेर सरकारले अध्यादेश मार्फत बिहीबार मतदाता नामावली दर्ताको बाटो खोलेको हो ।