सेवापाटी संवाददाता २०८२ असोज ९ गते
दिपक बजगाँई ‘कैलाश’ काठमाण्डौं – सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ताका लागि समय दिन सकिने गरी मतदाता नामावली ऐनलाई संशोधन गरेको छ । सरकारले मतदाता नामावली ऐन संशोधन गरेर आगामी २१ फागुनमा घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक मसान्तसम्म मतदाता नाम दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो।
ऐनको दफा ४ मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने उल्लेख छ । सोही व्यवस्थाका कारण २७ भदौमा निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन रोकिएको थियो । ऐनमा रहेको उक्त व्यवस्थाका कारण ठूलो संख्यामा ‘जेन–जी’ पुस्ता मतदान गर्नबाट वञ्चित हुने थिए ।
जेन–जी आन्दोलनको बलमा २७ भदौको राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको र सोही रात प्रतिनिधिसभाको विघटन गरी २१ फागुनमा नयाँ निर्वाचनको घोषणा गरिएको हो । गठन भएको दुई सातामा सरकारले पहिलो अध्यादेश ल्याएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।


