सेवापाटी संवाददाता २०८२ असोज २ गते

दिपक बजगाई ‘कैलाश‘ कठमाण्डौं – २४ भदौको जेन-जी आन्दोलनका क्रममा सरकारी संरचना मात्र नभई निजी व्यावसायिक समूहका उद्योग, व्यवसाय र निजी निवासमा समेत आगजनी र तोडफोड हुँदा व्यापक क्षति हुन पुग्यो । आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ ।

आगजानी, तोडफोड र लुटपाटका कारण कति क्षति भयो र कतिको रोजागारी गुम्दै छ भन्ने आधिकारिक तथ्यांक आइसकेको छैन । तर, पनि ठुल्ठूला कम्पनीमा भएको क्षतिको आधारमा सरोकारवालाले तत्कालको अवस्थामा १० हजारभन्दा बढी श्रमिक घरमा बस्नुपर्ने अवस्था आएको देखाएका हुन् । आगजानी र तोडफोडका कारण भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप लगायतका अर्बौंको लगानी भएका निजी संस्थाहरू समेत तहसनहस भएका छन् ।

त्यसले गर्दा ती क्षेत्रमा काम गर्ने हजारौं श्रमिकहरूको रोजगारी गुम्ने जोखिम बढेको हो । भाटभटेनी सुपरमार्केटमा मात्रै ५ हजार श्रमिकको रोजगारी क्षणभरमै गुमेको छ । देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरूपमा ध्वस्त भएका छन् ।

भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीईओ) पानु पौडेलका अनुसार जेनजी आन्दोलनमा ‘कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो भन्ने यकिन विवरण निकाल्न कम्तीमा एक महिना लाग्छ,’ सीईओ पौडेलले भने, ‘मुख्य कुरो के हो भने एकै पटक सयौंको रोजगारी गुमेको छ । रोजगारी गुमेका ५ हजार जनाको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई ठूलो चिन्ता छ ।’