
सेवापाटी संवाददाता २०८२ भदौ २६ गते
दिपक बजगाई ‘कैलाश’ काठामाण्डौं -मंगलबारको प्रदर्शनपछि देशैभरिका कारागारबाट भागेका हजारौँ कैदीबन्दीहरुमध्ये केही सय पक्राउ परेपनि जघन्य अपराधमा मुछिएका कैदीबन्दीका कारण समाज असुरक्षित बन्ने खतरा बढेको छ । यसरी फरार रहेकामध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दी छन् ।
तीमध्ये कति पक्राउ परे र कति बाहिर छन् भन्ने विवरण सम्बन्धित निकायसँगै छैन ।सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्केका थिए । कारागारबाट भागेका कैदीबन्दीमध्ये १४ सय ५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ परेकाहरूलाई सम्बन्धित जेलमा पठाउने काम भइरहेको बताए । पक्राउ परेका र आफै फर्केका बाहेक अझै पनि हजारौंको संख्यामा कैदीबन्दी खुलेआम हिँडिरहेका छन् ।