सेवापाटी संवाददाता २०८२ श्रावण १९ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका छन । ‘सोमबार राजीनामा दिनेछु,’ मुख्यमन्त्री लामाले भने । संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि आफ्नो पार्टी कांग्रेसभित्रको छलफल र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिन लागेको उनले बताए ।
लामाले आइतबार बेलुका नै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्ने तयारी गरेका थिए । तर प्रदेश प्रमुख काठमाडौंबाट नआइपुगेकाले राजीनामा दिन पाएनन् । मुख्यमन्त्री लामाले षड्यन्त्र र प्रपञ्च परम्पराका रूपमा स्थापित भए अन्य प्रदेशमा पनि सरकार परिवर्तनका खेल सुरु हुने तर यसले कसैको हित नगर्ने उनको भनाइ थियो । ‘यसले लोकतान्त्रिक गणतन्त्रमाथि नै खतराको आशंका जन्माएको छ,’ उनले भने ।
साथीहरूबाट अपेक्षित सहयोग प्राप्त नभएको, वरिष्ठ सरकारी अधिकृतहरूको अनियमित सरुवाजस्ता कार्यले काम गर्न नसकेको दाबी गरे । दुईदलीय गठबन्धनमा बनेका अन्य प्रदेशका सरकार यथावत् रहँदा बागमतीमा भने सरकार परिवर्तनको अवस्था बनेकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘सरकार किन परिवर्तन गर्नुपर्यो रु पाँच वर्षका लागि चयन भएको दलको नेता किन तुरुन्तै परिवर्तन गर्नुपर्यो ? ’ उनले प्रश्न गरे ।


