सेवापाटी संवाददाता २०८२ श्रावण १८ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उनले बिहानदेखि नदीको सतहदेखि छ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाब भइरहेको बताए । यो यस वर्षकै सबैभन्दा बढी मापन हो ।

कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो ।

बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण जोखिममा परेका छन् ।