सेवापाटी संवाददाता २०८२ श्रावण ११ गते
दिपक बजगाई ‘कैलाश‘ काठमाण्डौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको पद संकटमा परेको छ। आफ्नै दलका सांसदबाट संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री लामाको पद धरापमा परेको छ । मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चारजना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्दै बानियाँ पक्षमा खुलेका सांसदहरुलाई फकाउने रणनीतिमा लागेका छन् ।
उनी यसका लागि केन्द्रीय नेतृत्वलाई विश्वासमा लिन संघीय राजधानी काठमाडौंमा केन्द्रित छन् । पार्टी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट रहेका लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीचको लामो समयको शक्ति संघर्षपश्चात् उत्पन्न परिस्थितिका कारण यतिबेला प्रदेशको राजनीति तरंगित भएको छ ।
लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार आफूविरुद्ध हस्ताक्षर गरेका बागमती सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठलाई पदमुक्त गरेका छन ।


