सेवापाटी संवाददाता २०८२ श्रावण ७ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौैं – भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा अहिलेसम्मकै बढी २ खर्ब ७७ अर्ब ३ करोडको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले बढी छ । भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढ्दा मुलुकको समग्र निर्यात व्यापारमा नयाँ रेकर्ड बनेको हो । विभागका अनुसार ०७७/७८ मा निर्यात व्यापार १ खर्ब ४१ अर्ब नाघेको थियो । त्यसअघि ०७८/७९ मा २ खर्ब ३ करोड र ०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात गरिएको थियो ।

आर्थिक वर्ष ०८०/८१ मा समग्र निर्यात भने १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ बराबरको थियो । आर्थिक वर्ष ०८१/८२ मा भटमास, सूर्यमुखी र पाम तेल १ खर्ब २१ अर्ब ५२ करोड बराबरको निर्यात भएको छ । त्यही वर्ष १ खर्ब ४४ अर्ब ७८ करोडको भटमास, सूर्यमुखी, पामको कच्चा पदार्थ आयात भएको तथ्यांक छ । एक वर्षमै निर्यात झन्डै दोब्बर हुनुको मुख्य कारण खाने तेलको निर्यात देखिन्छ । कच्चा पदार्थको आयात पनि अघिल्लो वर्षको तुलनामा अस्वाभाविक रूपमा तेब्बर भएको तथ्यांक छ । ०८०/८१ मा भने ४१ अर्ब ९३ करोडको कच्चा तेल आयात भएको थियो ।

आर्थिक वर्ष ०८१/८२ मा भटमासको तेल मात्रै १ खर्ब ६ अर्ब ९९ करोडको निर्यात छ । जबकि, अघिल्लो वर्ष ९० करोडको मात्र भटमासको तेल निर्यात भएको थियो । भटमासको तेल (कच्चा) को आयात भने आव ०८१/८२ मा १ खर्ब ८ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब ५१ करोडको मात्र भटमासको तेलको कच्चा पदार्थ भित्र्याइएको थियो । सूर्यमुखी तेल (कच्चा) को आयात आव ०८०/८१ मा १७ अर्ब ८३ करोड रहेकामा ०८१/८२ मा बढेर २९ अर्ब २ करोड पुगेको छ ।