सेवापाटी संवाददाता २०८२ श्रावण ५ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं -आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। आज साउन महिनाको पहिलो सोमबार। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले बताए। उनका अनुसार पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलो पटक हो। भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।

नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ राख्ने छ। साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ। यहाँ सुरक्षाका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा दिइएको छ। साउन महिनालाई शिव भगवानको प्यारो महिना मानिने भएकाले अन्य शिवको मन्दिरहरुमा पनि भक्तजनहरुको भिड देख्न सकिन्छ ।


