सेवापाटी संवाददाता २०८२ श्रावण २ गते 

राधेश्याम गजुरेल , काठमाण्डौ- श्रीकृष्ण प्रणामी सेवासमिति नेपाल केन्द्रिय समितिद्वरा आयोजित ‘धर्म प्रवर्द्वन प्रचारप्रसार तथा प्रचारक ब्यवस्थापन बिभागको उपत्यकाब्यापी धर्म प्रचारक गुरुजन समन्वय भेलाझ प्रार्थनीय, बन्दनीय गुरुजनहरुको बृहत् उपस्थितिमा हालै नवतनधाम सेवा केन्द्र गोठाटारमा सौहर्दपूर्ण रुपमा सम्पन्न भएको छ ।

नवतनधामका गादिपति श्री १०८ अमृतराज महाराज, महन्त श्री १०८ पुरुषोत्म महाराज, निजानन्दधाम नजरपुरका गादिपति श्री १०८ सुरेन्द्र महाराजको सानिध्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै नवतनधामका गादिपति श्री १०८ अमृतराज महाराजले प्रणामी धर्म र प्रणामी हुनुमा गर्व गरौ, धर्मका ज्ञाता प्रचारक सबै सन्त महन्त हाम्रा धरोहर हुन्, उहाँको प्रचारले समाज बदलिन्छ, धर्मको गरिमा बढ्छ ,गुरुजनले सुन्दरसाथसँग प्रत्यक्ष सम्पर्क स्थापित गरि ज्ञान बाँडे धार्मिक समाज बिकाश हुने बताउनुभयो ।

त्यस्तै श्री १०८ सुरेन्द्र महाराजले हाम्रो निजानन्दीय पद्वति, महामतिको वाणी, परमधाम लक्षित परब्रम्हको ज्ञान जनजनमा पुर्याउने कार्य अनुशाशित रुपमा गर्नुपर्ने बताउँदै जागनी ब्रम्हाण्डको संसारिक खेलाका धाम अंगना हामीमा सखीभाव र प्रेम उत्पन्न हुनुपर्छ अन्यथा लोभ मोहको जागनी ब्रमाण्डमा हामी एकाकार हुन सक्दैनौ भन्नुभयो । भेलामा बोल्दै पण्डित नवलकिशोर आचार्यले हामी बृजरास हुँदै जागनीको ब्रमाण्डमा आएकाले अब हामी परमधाम लक्षित हुनुपर्छ । प्रचार शैली र प्रचारकका व्याख्या पद्वति र निजी स्वभावका (याङठ्याङ नमिलेको बताउँदै प्रेमको बिस्तार गरौ , प्रेम सञ्चार र स्व जागरण विना समाज अघि बढ्न नसक्ने भन्नुभयो ।

 

कार्यक्रममा सेवा समितिका पुर्व अध्यक्ष कृष्ण प्रसाद खतिवडाले नवतनधाम स्थापनादेखिको प्रसङ्ग बताउँदै धार्मिक संगठनिक तथा सेवाका कार्य मार्फत सुन्दरसाथ जोडिनुपर्ने बताउनुभयो । त्यस्तै पंडितहरु कृष्ण प्रसाद सापकोटा, हेम प्रसाद दहाल , मुरलीधर गजुरेल ,पुरुषोत्तम खतिवडा, सुवास शास्त्री, घनश्याम अधिकारी लगायतकाले निजानन्द सम्प्रदाय एक छ, एक हुनुपर्छ , कुनै ब्यक्ति र एक दुईका मत नमिल्दैमा धर्मै अलग हुन सक्दैन , जहाँ जुन कुरा बुझाईमा फरक अनुभूति भएको हो, त्यहाँ हामी गुरुजन र सबैे समिति पुगेर समस्या भए सुल्झाउँदै दुरदराजका सुन्दरसाथमा संगठनको उपस्थिति देखाउन जरुरी भएको बताउनुभयो ।

धर्मलाई यसको विधि पद्वति अनुरुप सञ्चालन गरि सांगठनिक रुपमा बृस्तिकरण गर्दै धर्म नै प्रचार प्रसार समाजको परिवर्तनको माध्यम बनोस् भन्दै हाम्रा नित्य नैमित्यिक कार्य र दिनचर्या धार्मिक बनाउन अंगाल्नुपर्ने नीति, नियमलाई सबैले आत्मसाथ गर्ने गराउने यस भेलाको उद्वेश्य रहेको छ । हाम्रा प्रचारकहरु सामाजका ऐना रहनुभएको र उहाँहरुले सुन्दरसाथसम्म पूर्याउने ज्ञान, भावना र दृष्टिकोणले वाणी, सेवा बितक र हाम्रा पद्वति अनि धार्मिक नियमको ब्याख्या हुने हुँदा सम्बन्धित बिषयका ज्ञाता र समाजमा प्रचारकलाई संगठित गराउने कुराहरुको बिषयमा प्रकाश पार्दै समितिका कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक खिल प्रसाद घिमिरेले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै संस्थाको उद्वेश्य भावी रणनीति र संस्थाको दृष्टिकोण बारे प्रकाश पार्नुभयो ।

सचिव मातृका प्याकुरेलले समिति सञ्चालन कार्यबिधि २०८२ प्रस्तुत गर्दै कार्यबिधिको प्रस्तावनामा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान तथा नियमावलीमा संस्थाले विभिन्न धार्मिक तथा सामाजिक सेवाको कार्यहरू गर्न उल्लेख भए अनुरुप श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदाय अन्तर्गत नेपालभरका सबै तहका समिति संस्थाहरूको छाता संगठनको रुपमा “श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल” स्थापित भएको छ । संस्थाको नियमावली २०८० को परिच्छेद ८ केन्द्रीय महाशाखा तथा विभाग सम्बन्धी व्यवस्थाको नियम २४ उपनियम १ को खण्ड ९क० धार्मिक कार्य व्यवस्थापन महाशाखा अन्तर्गत रहेको धर्म प्रवर्द्धन प्रचारप्रसार तथा प्रचारक व्यवस्थापन विभागले धर्म प्रचारक व्यवस्थापनको कार्य गर्नु पर्ने दायित्व रहन्छ ।

यस कार्यमा सन्त गुरुजन प्रचारकहरूको नै मुख्य भूमिका रहने हुँदा यस विभागको स्वरूप र सञ्चालनमा सन्त गुरुजन पण्डित प्रचारकहरूबाट मात्र सम्भव छ भने अर्कोतर्फ नेपालभरका सुन्दरसाथहरूका घरघरमा विभिन्न समयमा भइरहने मेलापर्व, सत्संग, पाठपारायण, वितक र सार्वजनिक रुपमा सञ्चालन हुने सप्ताह व्यापी पाठ पारायण धार्मिक जागनी महोत्सवका अवसरमा तारतम मन्त्र लिई जागनी हुनु भएका सुन्दरसाथहरको विवरण अभिलेख राख्ने कार्यका लागि पनि गुरुजनहरुबाट सहज रुपमा उपलब्ध हुन सक्दछ भन्ने आशयको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

धेरै गुरुजनको उपस्थितीले अब समाजमा सकरात्मक सन्देश पुग्ने अपेक्षा सेवा समितिले गरेको छ । संस्थामा बिमति हुन्छन् तर संस्था संस्थागत रुपमै चल्नुपर्छ ,समितिको भाव र भावना बुझिदिनु भन्दै संस्थाका निर्णय पूर्ण हुन नसक्ने तर संस्थागत निर्णय बाहिर आउनु अघि गम्भीर छलफल गर्न सहभागीले सम्झाएका थिए । कार्यक्रममा उपत्यका भित्र रहनुभएका धेरै गुरुजन , सेवा समिति नेपाल, युवा परिषद नेपाल तथा बाईजुराज महिला समितिका पदाधिकारी सदस्य गरि १०० भन्दा बढिको उपस्थिति रहेको थियो । धेरै गुरुजन र धर्म प्रचारकलाई एकै ठाउँमा देख्न पाउँदा सुन्दरसाथ हर्षित देखिन्थे भने गुरुजनमा पनि प्रेम सद्भाव र धार्मिक एकता देखिएको थियो ।

कार्यक्रममा सेवा समिति नेपालका संयोजक रेशम ढकाल, कार्यबहाक अध्यक्ष गोपालकृष्ण संजेल , युवा परिषद नेपालका अध्यक्ष कौशल फूँयाल , बाईजुराज समितिकी अध्यक्ष मिरा सञ्जेल लगायतका पदाधिकारी सदस्यको उपस्थिति रहेको थियो । भेलाले सुरेन्द्र महाराजको संयोजकत्वमा गुरुजनको धर्म प्रचारक समन्वय समितिको अबधारणा अनुरुप सह संयोजक र प्रस्ताविक सदस्यहरुको चयन गरेको छ ।