सेवापाटी संवाददाता २०८२ श्रावण २ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान बिना समृद्धि सम्भव नभएको दाबी गर्दै श्रमिक र श्रम बिना देशको प्रगति सम्भव नभएको बताएका छन्। उनले सरकारले श्रमिकलाई सधैँ भरोसा दिने बताए।

‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन। यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौं। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ।

‘कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सहकारी संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण पेस गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ। बिहीबार मात्रै सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सयबाट बढाएर १९ हजार ५ सय ५० रुपैँया बनाउने निर्णय गरेको छ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने घोषणा गरेको छ। सरकारले २०७६ सालमा ल्याएको सामाजिक सुरक्षा कोषमा हालसम्म उद्योग प्रतिष्ठानलाई सूचीकरण हुन अनिवार्य गरिएको थिएन।