सेवापाटी संवाददाता २०८२ असार ३१ गते
दिपक बजगाई ‘कैलाश‘ काठमाण्डौं – त्रिविले स्वायत्तता र विकेन्द्रकरण अन्तर्गत आर्थिक अधिकार खोसेको आरोप लगाउँदै प्राध्यापकले आन्दोलन थाल्दा पुल्चोक, थापाथली, पोखरा, धरान र चितवन इन्जिनियरिङ क्याम्पसको कक्षा सञ्चालन रोकिएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक ६ दिनदेखि पुल्चोकसहित ५ वटा क्याम्पसको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रेका छन्
। २५ असारदेखि पठनपाठन रोकेर प्राध्यापक संघको अगुवाइमा क्याम्पसहरूमा धर्ना दिइएको हो । प्राध्यापक संघ इन्जिनियरिङ क्याम्पस इकाइका सहसचिव तथा प्रवक्ता रोशन कार्कीले त्रिविले आर्थिक स्वायत्तता खोसेकाले आन्दोलनमा उत्रेको बताए । २०५५ सालमा त्रिविले संस्थानलाई विकेन्द्रीकरण र स्वायत्तताको अधिकार दिएको थियो । त्यसविपरीत २०८० को त्रिवि सभा (सिनेट) ले आर्थिक अधिकार कटौती गरेको संघको भनाइ छ ।
२०८० को बजेट सिनेटले विकेन्द्रीकरण र स्वायत्ततासम्बन्धी नियमबाट पदाधिकारी, शिक्षक, कर्मचारीलाई प्रदान गरिएको प्रोत्साहन, पारिश्रमिक र अन्य सुविधा कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविपरीत इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, कर्मचारीले गरेको खर्च लेखा परीक्षणमा बेरुजु देखिएको छ । बेरुजु आएपछि उनीहरू आक्रोशित हुँदै आन्दोलनमा जुटेका हुन् । त्रिविका रजिस्ट्रार केदार रिजालले इन्जिनियरिङ अध्ययन संस्थानमा मात्र नभई अन्यत्र पनि आर्थिक पारदर्शिता कायम गर्न र बेरुजु कम गर्न नीतिगत व्यवस्था गरिएको बताए ।


