सेवापाटी संवाददाता २०८२ असार २४ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । बाढीले नेपाल(चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको र नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।