सेवापाटी संवाददाता २०८२ असार ५ गते
दिपक बजगाई ‘कैलाश‘ काठमाण्डौं – इन्टरपोलको सहयोगमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपित ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् । भण्डारीलाई सिंगापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै बुधबार राति काठमाडौं ल्याइएको छ । मितेरी सहकारीको करिब १४ करोड रुपैयाँ अपचलनमा संलग्न रहेको आरोपमा भण्डारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान अघि बढेपछि ज्योति गुरुङ र भण्डारी दुवै फरार भएका थिए । सहकारीकी महाप्रबन्धक ज्योति गुरुङबाट सहकारीको रकम पटक–पटक मिटरब्याजमा सापटी लिएको र पछिल्लो पटक करिब साढे ३ करोड रुपैयाँ सापटी लिएपछि उनी सम्पर्कविहीन बनेको अनुसन्धानमा पाइएको थियो । दुवैलाई खोजी गर्न प्रहरीले गत असोजमा ‘इन्टरपोल’ मार्फत ‘रेड नोटिस’ जारी गरेको थियो ।
भण्डारी थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । महाप्रबन्धक गुरुङ कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।


