सेवापाटी संवाददाता २०८२ असार २ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – संघीय बजेटमा तीन करोड रुपैयाँभन्दा मुनिका टुक्रे योजना समावेश नगर्ने मन्त्रिपरिषद्को निर्णय तथा अर्थमन्त्रीको प्रतिबद्धताविपरीत आगामी वर्षको बजेटमा सरकारले करोडमुनिका झन्डै चार हजार योजना समावेश गरेको छ । सरकारमा कांग्रेसको नेतृत्व गर्ने उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकै दबाबमा बजेटमा बेथिति देखिएको छ ।

आयोजना बैंकमा ३ करोडभन्दा मुनिका योजना प्रविष्टि गर्न नमिल्ने बनाइए पनि त्यसविपरीत योजनाहरू बजेटमा राखिएका हुन् । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा १ हजारदेखि ९९ लाख रुपैयाँसम्मका ३ हजार ९ सय ८३ कार्यक्रम तथा योजना समावेश गरेको छ ।  सहरी विकासले आगामी आर्थिक वर्षका लागि ६ हजार ७ सय ५५ वटा योजना तथा कार्यक्रम बजेटमा राखेको छ ।

जुन मन्त्रालयको कुल कार्यक्रम तथा योजनाको ५९ प्रतिशत हो । सहरी विकासले आगामी आर्थिक वर्षका लागि ६ हजार ७ सय ५५ वटा योजना तथा कार्यक्रम बजेटमा राखेको छ । सत्तारूढ दलभित्रका प्रायः मन्त्री, नेता–कार्यकर्ता रिझाउन सहरीमा टुक्रे योजनाको ओइरो लगाइएको  स्रोतको दाबी छ ।