ललितपुर असार २०, ललितपुर जिल्ला गोदावरी नगरपालिकाको आयोजना तथा सहयोगी संस्था नेपालको सहजीकरणमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँ बुलुका महिलाहरुका लागि ७ दिने एड्भान्स जुत्ता चप्पल बनाउने तालिम सकिएको छ । गत आ.व. मा ४५ दिन सोही प्रशिक्षार्थीहरुलाई नगरपालिकाको सहयोगमा बेसीक तालिम संचालन भएको थियो ।
तालिम समापन कार्यक्रममा गोदावरी नगरपालिकाका उप–प्रमुख मुना अधिकारीले सहभागीहरुलाई बधाई दिदै बेसीक, एड्भान्स तालिमबाट सिकेको ज्ञान, सीपलाई ब्यवहारमा उतार्न, उद्यमी ब्यवसायी र आत्मनिर्भर बन्न आग्रह गरेका थिए । साथै सहभागीहरुलाई सीप संगसंगै प्रबिधि र बजारीकरणमा पनि नगरपालिकाले सहजीकरण गर्ने प्रतिवद्धता ब्यक्त भएको छ । सोही कार्यक्रममा गोदावरी नगरपालिकाका वडा नं. ११ का वडा सचिव पूर्ण बहादुर महर्जनले सहभागीहरुलाई बधाई दिदै ब्यवसाय दर्ता गरेर उद्यमी बन्न र राज्यबाट पाउने सेवा सुविधामा पनि सहभागी हुन प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् ।
सहयोगी संस्था नेपालको सहजीकरणमा ७ दिन सम्म संचालन भएको यस तालिम समापनमा सहयोगी संस्थाको अध्यक्ष शोभा घिमिरेले सहभागीहरुलाई सीपसंगै बजारीकरणमा सहयोग गर्ने, नगरपालिका र प्रशिक्षार्थीहरुलाई धन्यबाद र बधाई दिदै आगामी दिनहरुमा निरन्तर रुपमा सीप विकास र बजारीकरणका लागि काम गर्ने प्रतिवद्धता ब्यक्त भएको छ ।