जाडो बढेसँगै बाँकेमा मौसमी फ्लु, रुघाखोकी, कोल्ड डायरिया र निमोनियाका बिरामीहरु बढ्दै गएको विभिन्न अस्पतालले जनाएका छन् । केहीदिन यता चिसो बढ्न थालेपछि ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएका बिरामीहरू अस्पतालमा आउने क्रम बढेको भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो ।

रुघाखोकी र मौसमी फ्लुलाई सामान्य ठानेर बेवास्ता गर्दा निमोनियासमेत भएर अस्पताल आउने पनि बढ्दै गएको उहाँले बताउनुभयो । बालबालिका र बृद्धबृद्धामा बढी निमोनिया देखिएको डा. रिसालको भनाई छ ।

जाडो बढेसँगै अहिले भेरी अस्पतालमा मात्रै दैनिक दुई सय देखि तीन सय भन्दा बढीको संख्यामा रुघाखोकी र ज्वरोका बिरामीहरु उपचारका लागि पुगिरहेको अस्पतालले जनाएको छ ।

दुई–चार दिन पछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका लागि अस्पताल पुग्न डा. रिसालको सुझाव छ । उहाँकाअनुसार चार पाँच दिनसम्म पनि रुघाखोकी र ज्वरो निको नभए स्वास्थ्यमा जटिल समस्या देखिने भएकाले तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्छ । रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही गर्न नहुने उहाँले बताउनुभयो ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालमा पनि हाल आएर मौसमी फ्लुका बिरामी आउने क्रम बढेको अस्पतालका सह निर्देशक डा.रोमन किदवाईले बताउनुभयो ।

उहाँले चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया र छालाका बिरामीहरु बढेको बताउनुभयो । शिक्षण अस्पताल नेपालगञ्जमा मात्रै दैनिक दुई सय भन्दा बढी रुघाखोकी र ज्वरोका बिरामी पुग्ने गरेको सह निर्देशक डा. किदवाईले बताउनुभयो ।

यसैगरि नेपालगञ्जस्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरुमा पनि सयौंको संख्यामा रुघाखोकीका बिरामीहरु पुग्ने गरेका छन् । मौसम परिवर्तन र जाडोले सबैभन्दा बढी प्रभाव बालबालिकालाई परेको निजि क्लिनिक सञ्चालन गर्नु भएका वरिष्ठ बालविशेषज्ञ डा. शकील अहमदले बताउनुभयो ।

उहाँले गत एकसाता यता आफ्नो क्लिनिकमा आउने अधिकांश बालबालिका रुघाखोकी, ज्वरो, निमोनिया लगायतबाट ग्रस्त भएर आउने गरेको बताउनुभयो । बालबालिकालाई जाडो मौसममा सबैभन्दा बढी सुरक्षित राख्न सुझाव दिंदै उहाँले सामान्य रुघाखोकी लागेपनि तत्काल चिकित्सकलाई जचाउँन आग्रह गर्नुभयो ।

मौसमी फ्लु र रुघाखोकीको संक्रमणबाट जोगिन मास्क लगाउनुका साथै सरसफाइ र चिसोबाट बच्नुपर्ने चिकित्सकहरुको सुझाव छ । चिकित्सकले न्यानो कपडा लगाउन, मन तातो पानी र झोलिलो पदार्थ खान, हरियो सागसब्जी र फलफूल खान समेत जोड दिएका छन् । Source;Gorkhapatra