जुम्लामा पछिल्लो समय स्थानिय परम्परागत पहिरन हराउँदै जाँदा स्थानीय बुढापाखा चिन्तित भएका छन् । अहिलेका युवापुस्ताले परम्परागत पहिरन लगाउन छाड्दा र नयाँ विदेशी पहिरन भित्रिएको भन्दै उनीहरु चिन्तित बनेका हुन् ।

 

पहिला आफूहरुले स्थानीयस्तरमा बनाइएका ऊनका कपडा लगाउँदै आएको भएपनि अहिलेको अवस्थामा त्यस्तो कपडा पाउन मुस्किल परेको जेष्ठ नागरिकहरु बताउँछन् ।

 

चन्दननाथ नगरपालिक वडा नम्बर ३ की रत्नकला सुनार जुम्लाको परम्परागत पहिरन हराउँदै गएकोमा दुखी छिन् । आफूहरुले लगाउँदै आएको ऊनबाट तयार गरिएका राडी पाखी, कम्बल, फेरुवा, लुउ, कालो काम्लो, स्थानीयस्तरमा तयार गरिएका छीटका फरिया, दोर्चा र दोफर हराउँदै गएको उनको भनाइ छ ।

 

अहिले ऊनबाट बनेका परम्परागत पोषाक भन्दा विदेशी बनीबनाउ पोषाकमा युवा पूस्ताहरुको आकर्षण देखिएको छ । यसले गर्दा जुम्लाको परम्परागत पोषाक लोप हुने अवस्थामा पुगेको  छ भने घरेलु उद्योगहरुले पनि राम्रो आम्दानी गर्न छोडेका छन् ।

जुम्लामा राडीपाखी बुन्दै आएका मुगुका टोमा लामालाई पनि उस्तै चिन्ता छ । नेपाली गुनिउँ चोली, दौरासुरुवाल, रहनसहन, रितिरिवाज, परम्परा, भेषभुषा हराउँदै गएकोप्रति दु:ख लागेको भन्दै मध्यान्हसँग उनले दुखेसो पोखिन् ।

 

उनले भनिन्, ‘घर घरमा भेडाबाख्रा व्यवसाय हुन्थ्यो, ऊनका विभिन्न पोषाकहरु तयार गरेर  प्रयोग गर्ने गर्थ्यौं, तर अहिले स्थानीय पोषाकहरु हराउँदै गए ।’

 

अहिलेका पछिल्ला पुस्ताहरुलाई ऊनबाट बनेका कपडा कस्ता हुन्छन् भन्ने नै आफूलाई थाहा नभएको पातारासी गाउँपालिका वडा नम्बर ३ का राजकुमार बुढा बताउँछन् । उनले भने, ‘पुराना पोषाक सम्बन्धी मलाई त्यति थाहा नै छैन ।’ नयाँ नयाँ फेसन र डिजाइनका कपडा लगाउने गरेको उनको भनाइ छ ।

 

राडीपाखी र ऊनका कपडाले स्वास्थ्यलाई समेत फइदा हुने तथा नसा सम्बन्धी रोग लाग्नबाट बचाउने बुढापाखा बताउँछन् ।

 

चन्दननाथ नगरपालिका वडा नम्बर १ का दयादत्त हमाल जिल्लाको पहिचान बचाउनका लागि भएपनि पुरानो पहिरनलाई जोगाएर राख्न आवश्यक रहेको बताउँछन् । उनले भने, ‘जुम्लाका महिला पुरुषले नेपाली पोषाक दौरासुरुवाल, गुनिउँ चोली लगाउने, कम्मरभरि बाह्र हातको पटुका बाध्ने, ऊनबाट बनाइएको कालो काम्लोको घुम्चो हाल्ने, गलामा स्थानीयस्तरमा तयार पारिएका मालपोते लगाउने, नाक कानमा गरगहना लागउने संस्कार अहिले हराउदै गएको छ, यसलाई बचाउन आवश्यक छ ।’

 

अहिलेका छोरी र बुहारी पनि छुट्याउन कठीन हुने गरेको उनले बताए । पुराना भेषभुषाले छोरी बुहारी छुट्याउन सजिलो भए पनि अहिले भने कठीन हुने गरेको उनको भनाइ छ ।

 

परम्परागत पहिरनले संस्कृति र परम्पराको जगेर्नाका साथै स्वास्थ्यका लागि फाइदा हुने  जाकारहरु बताउँछन् । ऊनबाट बनेका कपडा जोगाउनका लागि पुराना पुस्ताले निरन्तरता दिँदै नयाँ पुस्ताहरुमा हस्तान्तण गर्न सके जिल्लाको पहिचान हुने जानकारहरुको भनाइ छ ।

 

तातोपानि गाउँपालिकाले परम्परा तथा सांस्कृतिक संरक्षण गर्न पञ्चेबजा समिति गठन गरेर पुराना रितिरिवाज, रहनसहन, भेषभुषा, संस्कार र सांस्कृतिक जगेर्ना गर्ने गरेको तातोपानि गाउँपालिकाका अध्यक्ष नन्द्र प्रसाद चौलागाईंले जानकारी दिए ।

 

उनले मध्यान्हसँग भने, ‘यस्ता भेषभुषालाई संरक्षण, प्रबर्द्धन र प्रचारपसार गर्न सरोकारवालाहरुसँग निरन्तर संवाद गर्दै आएका छौं, आगामी दिनमा पनि पालिका संवाद गर्ने तयारी छ ।’ यस्ता विषयमा पालिकाको ध्यान केन्द्रित भएको र परम्परा तथा सांस्कृतिक संरक्षण गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनले बताए ।Source :Janasawal