सेवापाटी संवाददाता २०८२ भदौ २० गते  

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ३ दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुनेछ। विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेस हुने छन्। ‘यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ।

राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ।’दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहन  एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। विधान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।

महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्विर छन्। यसैगरी कार्लमार्क्स,फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्विरहरु राखिएका छन्। स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ।