सेवापाटी संवाददाता २०८२ भदौ ९ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं-उखुखेतीमा सरकारले दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशैभरिका किसान उखुका लाँक्रासहित माइतीघर मण्डलामा धर्ना बस्दै आन्दोलित भएका छन् । किसानलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिँदै आएको थियो । तर, सरकारले त्यसमा ५० प्रतिशत अर्थात् ३५ रुपैयाँ अनुदान कटौती गरेको थियो ।

महँगीका आधारमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकम बढाउनुको सट्टा कटौती गरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुश्वाहाले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई पोहोर साल दिएकै आधारमा प्रतिक्विन्टल अनुदान रकम ७० रुपैयाँ तोकेर मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

तर, असार ३२ को मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ३५ रुपैयाँ मात्रै अनुदान दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानको २ करोड १५ लाख ७२ हजार १ सय ४८ क्विन्टल उखु खरिद गरेको थियो । प्रति क्विन्टल ७० रुपैयाँको दरले सरकारको तर्फबाट किसानले १ अर्ब ५१ करोड ५० हजार ३ सय ६० रुपैयाँ अनुदान रकम पाउनुपर्ने हो ।

तर, त्यो नपाएका कारण उखु किसान राजधानी केन्द्रित आन्दोलन थालेको अध्यक्ष कुश्वाहाले बताए । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकममा ५० प्रतिशतले कटौती गरेको थियो । जिल्ला—जिल्लामा आन्दोलन गर्दा पनि सुनवाइ नभएपछि निर्णयक आन्दोलनका लागि किसान काठमाडौं आएको नेपाल उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिंगले बताए ।

उनले भने, सरकारले दिँदै आएको ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान रकम दिने निर्णय नगरेसम्म सडक नछाड्ने महोत्तरीका उखु किसान रामपुजन महतोले बताए ।