सेवापाटी संवाददाता २०८२ श्रावण १३ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – आज नाग पञ्चमी अर्थात नागको पुजा गर्ने दिन आज घरका मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने गरिन्छ। श्रावण शुक्ल पञ्चमीमा मनाइने नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको पाइन्छ ।

आज ललितपुरको नागदह, नक्सालको नाग पोखरी,फर्पिङको टौदह लगायतका स्थानहरुमा नागको पुजा गर्नेहरुको भिड देख्न सकिन्छ । यि स्थानहरुमा नाग पञ्चमीका दिन बिषेश मेला पनि लाग्ने गर्दछ् ।