सेवापाटी संवाददाता २०८२ श्रावण २ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा १ बजे बस्ने भएको छ। बिहीबार मध्यरातिसम्म सचिवालय बैठक चलेपछि ११ बजेका लागि बोलाइएको पोलिटब्युरो बैठक १ बजेका लागि सारिएको हो। आजको पोलिटब्युरो बैठकमा सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र विधान महाधिवेशनको बारेमा छलफल हुने छ।
उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उमेर हद र २ कार्यकाल हटाउने, वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारीको संख्या घटाएर ११ राख्ने प्रस्ताव गरेका थिए। पौडेलको प्रस्ताव अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिवको प्रस्ताव गरिएको छ। नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ।
सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो। एमालेमा तीन तहका संरचना, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। सचिवालयलाई हटाएर पदाधिकारीहरुलाई नै स्थायी कमिटी बनाउने एमालेको तयारी छ। केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरो रहने भएकाले एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ। हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो।


